– अनन्त्य सुन्दर

काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा हिजो मंगलबारदेखि सुधार आएको छ। आज नेप्से परिसूचक १०० अंकभन्दा बढीले बढेको छ। 

नेप्से उछाल आए पनि अझै पनि धेरै लगानीकर्ता बजार कुन दिशामा जान्छ ? भनेर अन्यौलमै छन्। ‘सोमबारको बजार हेर्दा बियरिस बजार सुरु भयो लागेको थियो। आजको बजार हेर्दा बुल अझै सकेको छैनजस्तो देखियो। आफूसँग भएको सेयर के गर्ने भन्ने अन्योलमा छु’, सक्रिय लगानीकर्ता हीरा अधिकारीले भनिन्।

अर्का लगानीकर्ता उदय सिंह अब नेप्सेको करेक्सन सकिएको बताउँछन्। ‘कम्पनीहरुले बोनस बाँड्ने बेला भएकाले लगानीकर्ताले राम्राराम्रा कम्पनी छनौट गरेर लगानी गर्दा राम्रो हुन्छ’, सिंहले भने, ‘आज कारोबार रकम ६ अर्बमा खुम्चिएकाले लगानीकर्ता केही दिनपछि मात्र बजार प्रवेश गर्दा उचित हुनेछ।’ 

आज कारोबार रकम घटेले ठूला लगानीकर्ताको ट्रयाप नि हुन् सक्ने सक्रिय लगानीकर्ता सचिन राजवंशीको आशंका छ। ‘राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर घटाउने निर्देशन दिएकाले गर्दा पनि लगानीकर्ता बजार बढ्ने भएकाले उत्साहित भएको देखिन्छ। कारोबार रकम बढेसँगै बजार प्रवेश गर्दा उचित हुन्छ’, उनले भने।

लगानीकर्ता विवेक क्षेत्री केही दिन बजारको मुभमेन्ट हेरेरमात्र बजार प्रवेश गर्ने योजनामा छन्। ‘निफ्राको आईपीओपश्चात बजारमा अहिले धेरै नयाँ लगानीकर्ता छन्’, उनले भने, ‘नयाँ लगानीकर्ता सामाजिक सञ्जालमा भएको हल्लाको पछि लागेर लगानी गर्ने भएकाले बजारमा अहिले ठूलो उत्तरचढाव भएको हो।’

सक्रिय लगानीकर्ता शारदा आचार्यका अनुसार भोलि पनि बजार २८०० माथि नै बन्द भएमा बजारमा पुनः प्रवेश गर्न सकिन्छ। आचार्य भन्छिन्, ‘अर्थमन्त्रीको बजारप्रति सकारात्मक रहेको अभिव्यक्तिका साथै आन्दोलनरत लगानीकर्ता साथै नेपाल धितोपत्र बोर्डका पदाधिकारीबीच वार्ता हुने कुराले पनि बजारमा सकारात्मक असर परेको छ।’

नेप्से परिसूचकमा जसरी करेक्सन आयो, त्यो ठूला खेलाडीहरुले सुनियोजित ढंगमा बजार घटाएको भन्ने बुझिने लगानीकर्ता उत्सव सापकोटाको भनाइ छ। ‘बजारमा सानो करेक्सन आवश्यक थियो। तर बजार जसरी घट्यो धेरै लगानीकर्ताले प्यानिक भएर घाटामा पनि सेयर बेचे। नेप्से परिसूचकमा स्थिरता आएसँगै बजारमा फेरि प्रवेश गर्दा उचित हुन्छ’, उनले भने।