काठमाण्डौ । विदेशमा रहेकै अवस्थामा एक व्यक्तिको कीर्ते हस्ताक्षर गरी बैंक खाताबाट लाखौँ रकम झिकिएको काण्ड सार्वजनिक भएको छ। 

यो काण्ड सुनसरीको इटहरीस्थित सानिमा बैंकको शाखा कार्यालयमा घटेको हो। त्यहाँ खाता रहेको एक व्यक्तिको रकम चेकमा कीर्ते हस्ताक्षर गरी झिकिएको प्रमाणहरु फेला परेका छन्। 

कमल घिमिरे विगत १३ वर्षदेखि लेबनानमा रोजगारी गर्दै आएका थिए। करिब २ महिनाअघि उनी मोरङको सुन्दरहरैंचा–६ स्थित घर फर्किए। उनको खाता सानिमा बैंकको इटहरी शाखामा रहेको छ। त्यही शाखामा उनले आफूले विदेशमा पसिना चुहाएर कमाएको पैसा जम्मा गर्दै आएका थिए। 

पछिल्लोपटक कमल गत अप्रिल ७ मा बैंकमा आफ्नो रकमबारे जानकारी लिन पुगे। तर, आफ्नो खाताबाट ४ लाख २२ हजार रुपैयाँ कीर्ते हस्ताक्षर गरेर झिकिएको थाहा पाएपछि कमल छाँगाबाट खसेझैँ भए। 

कमलको खाताबाट सन् २०२१ जनवरी १४ मा ३ लाख रुपैयाँ र २०२१ अप्रिल १३ मा १ लाख २२ हजार रुपैयाँ चेकमार्फत बैंकले भुक्तानी गरेको छ। जब यी दुवै मितिमा कमल लेबनानमै थिए र उनले घरमा छाडेका चेक बुकको कुनै पनि पानामा हस्ताक्षर नै गरेका थिएनन्। 

त्यसो त चेकबाट भुक्तानी लिनेमा उनकै पत्नी सरस्वती खड्का हुन्। उनले पतिको कीर्ते हस्ताक्षर गरेर रकम झिकेर चलाएको स्वीकार पनि गरेकी छन्। यो कुरा स्वयं कमल र बैंक अधिकारीहरुले बिजशालालाई बताएका छन्।

यद्यपि पतिको कीर्ते दस्तखत गरी पत्नीले पैसा झिकेको पुष्टि भए पनि यो घटनालाई सामान्य रुपमा लिन भने मिल्दैन। किनकि एक त खातावालाले आफ्नो चेकमा हस्ताक्षर नै गरेका थिएनन् भने अर्को कीर्ते हस्ताक्षर पनि बैंकमा उपलब्ध हस्ताक्षरसँग मिल्दैन। 

यो हिसाबले यी दुवै चेकको भुक्तानीमा सानिमा बैंक इटहरी शाखाका कर्मचारीहरुको लापरबाही त पक्कै भएको छ नै मिलेमतोको पनि आशंका उत्तिकै छ। हस्ताक्षर नै नमिलेको अवस्थामा चेकको भुक्तानी दिनु सरासरले सबैभन्दा ठूलो भूल र लापरबाही बैंकका कर्मचारीहरुबाटै भएको देखिन्छ। 

सानिमा बैंकका इटहरी शाखा प्रबन्धक केशव श्रेष्ठ यो घटनामा बैंकका कर्मचारीहरुको चरम लापबारही देखिएको स्वीकार गर्छन्। ‘यसमा टेलरमा बस्ने कर्मचारीदेखि चेकमा हस्ताक्षर रुजु गर्ने र प्रमाणीकरण गर्ने कर्मचारीसम्मले लापरबाही गरेको अनुसन्धानबाट खुलेको छ’, श्रेष्ठले भने, ‘अब थप कारबाही प्रक्रिया अगाडि बढाउन हामीले पीडित भनिएका कमल घिमिरेलाई सहकार्य गर्न भनेका छौँ, दोषी जोकोही भए पनि कारबाही हुनुपर्छ र हुन्छ पनि ।’

श्रेष्ठका अनुसार कमलले यस विषयमा मौखिक रुपमा मात्र जानकारी गराएका छन्। ‘तर, कानुनी प्रक्रियाबाट अगाडि बढ्न हामीले उहाँलाई एउटा निवेदन दिन बारम्बार भनेका छौँ तर उहाँले निवेदन दिन आनाकानी गरिरहनु भएको छ’, उनले भने, ‘सायद कानुनी प्रक्रियाबाट अगाडि बढ्न आफ्नै श्रीमती पनि पर्ने र समाज बेइज्जत हुने डर उहाँमा देखिएको छ। तर, यो केसको टुंगो लगाउने हो भने उहाँले हामीलाई साथ दिनुपर्छ।’

यो केसको सेटलमेन्ट अवश्य हुने श्रेष्ठले बताए। ‘आज पनि कमल घिमिरे र उहाँका आफन्तहरुसँग कुरा भएको थियो, उहाँलाई एउटा निवेदन दिन भनेका छौँ, सायद उहाँले भोलि निवेदन दिनुहुनेछ’, उनले भने, ‘उहाँले निवेदन दिएपछि कानुनी रुपमा कारबाही प्रक्रिया अगाडि बढाउन हामीलाई सहज हुनेछ।’