काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि बिहीबारबाट रोक्ने भएको छ।

मर्जर प्रक्रिया पूरा गरी सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले भोलि चैत ९ गतेबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्दैछन्। मर्जर प्रक्रिया सम्पन्न गरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। 

नेप्सेले मर्जरसम्बन्धी निर्देशिकाबमोजिम ती दुवै कम्पनीका सेयर कारोबार रोक्का चैत ९ गतेबाट लागू हुने गरी रोक्का गरिएको जानकारी गराएको छ।

गत असार २९ गते यी दुवै कम्पनी आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता गरेका थिए। दुवै कम्पनीको गत फागुन १२ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। 

यी दुवै कम्पनीको मर्जरलाई नेपाल बीमा प्राधिकरणले गत फागुन १८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयले भने गत फागुन २९ गते मर्जरलाई स्वीकृति प्रदान गरेको थियो। 

मर्जरपछि एकीकृत कम्पनीको रजिस्टर्ड र प्रधान कार्यालय काठमाण्डौको नयाँबानेश्वरमा हुनेछ।