काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ८२ करोड ९३ लाख बढी खूद बिमा शुल्क आर्जन गरेको छ । 

यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.४२ प्रतिशतको बढोत्तरी हो । अघिल्लो वर्ष कम्पनीको खूद बिमा शुल्क आर्जन ४१ करोड ७९ लाख रुपैयाँमा सीमित थियो । 

कम्पनीको बिमा शुल्क आर्जनसँगै व्यवस्थापन खर्च र दाबी भुक्तानीको आकार समेत बढेको छ । यो वर्ष कुल व्यवस्थापन खर्च बढेर २१ करोड २० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च १८ करोड ३४ लाख रुपैयाँमा सीमित थियो । 

अघिल्लो वर्ष ४३ लाख ९६ दाबीभुक्तानी गरेको कम्पनीले यो वर्ष भने  ७६ लाख २६ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको देखिएको छ । 

अघिल्लो वर्ष  २२ करोड २८ लाखमा सीमित जीवन बिमा कोषको आकार बढाएर ९५ करोडको उचाई चुमाएको कम्पनीको जगेडा तथा कोषको आकार भने घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १४ करोड ४३ लाख रहेको जगेडाकोषमा समीक्षा अवधिमा १२ करोड २० लाख मात्र जम्मा भएको छ । 

महाविपत्ति जगेडाको आकार १ करोड ५२ लाखबाट खुम्चिएर १ करोड ३४ लाखमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ८ करोड ९१ लाख रुपैयाँ रहेको कम्पनीको नाफा घटेर ८ करोड ५३ लाखमा सीमित बन्न पुगेको छ ।