काठमाण्डौ। भर्खरै सार्वजनिक निष्कासन भएको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार हुने सम्भावना रहेको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडका चिफ अपरेटिङ अफिसर मनीष घिमिरेले सानिमा जनरल इन्स्योन्सको आईपीओ बाँडफाँड सम्भवतः शुक्रबार गर्ने तयारी भइरहेको जानकारी गराएका हुन्। यो आईपीओमा परेको अझै ३ वटा बैंकले भेरिफाइ गरिनसकेका काराण अन्तिम डेटा आउन बाँकी रहेको उनले बताए।

आईपीओमा ८ लाख ६६ हजार आवेदन परेकोमा क्यापिटलले भेरिफाई गरी भरसक चाँडै बाँडफाँड गर्ने योजना रहेको घिमिरेले जानकारी दिए।

यो कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।

कम्पनी चुक्तापुँजी १ अर्ब पुर्याउन आईपीओ निष्कासन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ।