काठमाण्डौ । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टर्नेट (डाटा) प्याकेज दिने सम्झौता भएको छ ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

उक्त सम्झौता पत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब रु.३०० बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टर्नेट(डाटा) प्राप्त गर्ने बैंकले जानकारी दिएको छ । 

सानिमा बैंकको  सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८२ वटा एटीएम संचालनमा रहेका छन् ।