काठमाण्डौ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ। 

उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको थियो। सोही सम्झौता पुनः नवीकरण गरिएको बैंकले जनाएको छ। 

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकका तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो।  

सानिमा बैंकको केन्द्रीय कार्यालय काठमाण्डौको नक्सालमा आयोजित एक कार्यक्रमका बीच सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्राडा रवि शाक्यले हस्ताक्षर गरेका छन्। 

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए। 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा एटीएम सञ्चालनमा रहेका छन्।