काठमाण्डौ । सेयर बजार एउटा त्यस्तो ठाउँ हो, जहाँ सेयरमूल्यको तल कतिसम्म र माथि कतिसम्म पुग्छ भन्ने कसैले पनि अनुमान लगाउन सक्दैन। बेला–बेलामा सेयर बजार लो क्याप भएका सेयरमा कर्नरिङ भएका समाचार हामीले सुन्दै आएकै हो। 

पछिल्लो समय सामलिंग पावर कम्पनीको सेयर गएको २ कारोबार दिनमा लगातार पोजेटिभ सर्किट लागेर १०० रुपैयाँले बढेको छ। हिजो बुधबार बजार खुल्दा ४३० रुपैयाँमा रहेको कम्पनीको सेयरभाउ लगातार दुई दिन सर्किट लागेर बिहीबार ५३१ रुपैयाँमा बन्द भएको छ। सेयर बजार नै घटेको अवस्थामा यो कम्पनीको मूल्यमात्रै बढ्नुले सरासर चलखेल हुन सक्ने एक लगानीकर्ताले बताए। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको कम्पनीको वित्तीय विवरण हेर्दा ईपीएस १४.४९ रुपैयाँले नेगेटिभ छ भने रिर्टन अन इक्विटी (आरओई) पनि १२.७६ प्रतिशतले नेगेटिभ छ। लगानीकर्ता मनीष दवाडीले पनि अहिले बजार नै घटेको बेलामा यो कम्पनीको मूल्यमात्रै बढ्नुले बजारमा चलखेलको आशंका व्यक्त गरे। 

यो कम्पनीको सेयर ब्रोकर नम्बर ४९ र २८ बाट उच्च मात्रामा खरिद गरेको देखिएको छ। नाम उल्लेख नगर्ने सर्तमा एक ब्रोकरले यो कम्पनीको सेयर संख्या थोरै भएकोले चलखेल भएको आशंका व्यक्त गरे।