- अर्जुन तिमिल्सिना

काठमाण्डौ । अहिले धितोपत्र दोस्रो बजारमा लगानीकर्ताको आकर्षणका रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघि सारेको ‘सेयर खण्डीकरण’ को प्रस्तावका विषयमा चौतर्फी चर्चा हुन थालेको छ। नेपालमा कुनै पनि कम्पनीले सेयर खण्डीकरण गर्न लागेको यो पहिलोपटक हो।

कम्पनीले आगामी वार्षिक साधारणसभामा सेयर खण्डीकरणलाई विशेष प्रस्तावका रुपमा प्रस्तुत गर्नेछ। सभाले यो प्रस्ताव अनुमोदन गर्नेछ । तर नियामक निकायबाट स्वीकृति नभई यो अजेन्डाले मूर्त रुप भने पाउने छैन।

सेयर खण्डीकरण के हो त ?

उदाहरणका लागि मान्नुहोस् तपाइँसँग रु. १ हजारको नोट छ। यदि तपाइँले उक्त १ हजारको नोटलाई रु. ५००/५०० दुईवटा नोटमा साट्नुभयो । अब तपाइँसँग २ वटा नोट हुनेछ तर भ्यालु भने १ हजार नै हुन्छ।

हो, सेयर खण्डीकरण पनि यस्तै हुन्छ । नेपाल लाइफले पनि यस्तै गर्न लागेको हो। कम्पनीले फेस भ्यालु रु. १०० लाई टुक्राएर रु. ५०/५० गर्न लागेको हो। अर्थात यदि तपाइँसँग यो कम्पनी १०० कित्ता सेयर छ भने अब २०० कित्ता हुन्छ तर मूल्य भने समान नै रहन्छ। यसले व्यवहारिक रुपमा कारोबार गर्न सजिलो हुन्छ।

सामाजिक सञ्जालमा चर्चा–परिचर्चा

कम्पनीको यो प्रस्तावमाथि नियामक निकाय तथा कम्पनी रजिस्टारको कार्यालयले के निर्णय देला, त्यो भविष्यमै थाहा हुनेछ। तर आज सेयर बजारमा धेरैको नजर र पोर्टफोलियोमा भएको कम्पनीमा भने मिश्रित प्रतिक्रिया आएको छ । 

सामाजिक सञ्जालमा सुनिल ढकाल नामक लगानीकर्ताले लेखेका छन्, ‘म त भन्छु अहिले नै किन्नुस् किनकि मूल्य बढेर ३ हजार ५०० रुपैयाँ पुग्छ, कित्ता १०० को २०० सय हुन्छ । मूल्य समायोजन भएपछि १ हजार ७०० रुपैयाँ हुन्छ । बजार बढ्दो छ, त्यसैले फेरि २ हजारदेखि २ हजार २०० रुपैयाँसम्म हुन्छ।’

ढकालकै पोस्टमा प्रतिक्रिया जनाउँदै अर्का लगानीकर्ता कुमार बानियाँले लेखेका छन्, ‘आफूसँग मात्रै भएका कम्पनी राम्रो भन्नुभन्दा राम्रोलाई राम्रो भन्ने हो, नेपाल लाइफ सदाबहार राम्रो कम्पनी हो ।’

यसमा शरद शर्मा नाम गरेका लगानीकर्ताको भनाइ भने अलि फरक छ। उनले लेखेका छन्, ‘यो स्टक स्प्लिटमा कित्ता दोब्बर बनाइन्छ तर फेस भ्यालु आधा अर्थात रु. १०० को सट्टा रु. ५० बनाइन्छ। कुरा लगभग उस्तै हो। किन्न चाहने लगानीकर्तालाई झुक्काउने खेलमात्रै हो। उदाहरणका लागि सोल्टी होटेल।’

सामाजिक सञ्जालमै अर्का लगानीकर्ता बब थापाले वासलतको आकारभन्दा बजार पुँजीकरण बढी भएकोमा गुनासो पोखे।

के भन्छन् बजार पण्डितहरु ?

लगानीकर्ता तथा बजार विश्लेषक गोविन्दप्रसाद घिमिरे नेपाल लाइफ कम्पनी आफैँमा मजबुत भएको र यसको सेयर धेरैसँग रहेकोले झटपट तल नआउने तर्क गर्छन्। ‘एकैदिन यो कम्पनीको ९१ करोड रुपैयाँ बढीको कारोबार भएकोले यो बुझेकै लगानीकर्ताले यो कम्पनीको सेयर खरिद गरेका छन्’, उनले भने।

यो कम्पनीले २०७६/७७ को लाभांश घोषणा गर्न पनि बाँकी भएकोले सबै समायोजन गर्दा पनि भाउ २ हजार रुपैयाँ माथि नै रहने घिमिरेको दाबी छ।

हरेक वर्ष ५० प्रतिशतभन्दा बढी लाभांश खुवाउने कम्पनी कमै छन्। अहिले बजारमा थपिएका नयाँ तथा युवा लगानीकर्ताले सेयरको फेस भ्यालु घटाउँदा खरिद गर्नसक्ने हुँदा माग र आपूर्तिको नियमअनुसार कम्पनीको सेयरमा माग अझै बढ्ने आधार रहेको विश्लेषकहरु बताउँछन्।

अन्तर्राष्ट्रिय अभ्यास

अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि नै सेयर खण्डीकरणको अभ्यास हुँदै आएको छ। बहुचर्चित एप्पल कम्पनीको सेयर खण्डीकरण भएकोले नेपालमा नौलो भए पनि अनुपयुक्त मान्न नहुने बजार पण्डितहरुको तर्क छ। लगानीकर्ताले लगानी गर्दा सेयर बजारबारे अध्ययन पनि आवश्यक हुने उनीहरुको सुझाव छ।

प्राविधि पक्ष 

आरएसआई

नेपाल लाइफ इन्स्योरेन्सको हालको आरएसआई ८३.११ विन्दुमा रहेको छ। जसको अर्थ यो कम्पनीको सेयरमूल्य अझै केही दिन बढ्ने देखिन्छ। उच्चतम आरएसआई विन्दु ९१ सम्म पुग्ने इतिहास छ।

एमएसीडी लाइन

एमएसीडी लाइनअन्तर्गत २०२१ जनवरी १९ मा रातो रेखालाई नीलो रेखाले काटेर माथि गएको र हिस्टोग्राम क्रमशः पोजेटिभ भएकोले बजारमा अझै केही दिन खरिदचाप रहन सक्ने देखिन्छ।

पिभट विश्लेषण

बढेमा प्रतिरोध

पहिलो प्रतिरोध– ३०७६

दोस्रो प्रतिरोध– ३५२३

तेस्रो प्रतिराध– ४०००

घटेमा सपोर्ट

पहिलो सपोर्ट– २६७५

दोस्रो सपोर्ट– २४५१

तेस्रो सपोर्ट– २२०५