काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।

आज जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने बताए। ‘सामाजिक सुरक्षा भत्ता महिनाको १०० रुपैयाँबाट सुरू गरिएको थियो, अहिले दिनकै १०० रुपैयाँमा पुगेको छ’, उनले भने, ‘आगामी दिनमा अझै बढ्छ। आउँदो बजेटमा अझै वृद्धि गरिनेछ।’

त्यस्तै प्रधानमन्त्री ओलीले वृद्धवृद्धा पनि लिफ्ट चढेर धरहराको कौसीबाट काठमाण्डौ हेर्न सक्ने बताएका छन्। ‘पुनर्निर्माण प्राधिकरणले असाधारण काम गरेको छ’, उनले भने, ‘वैशाख ११ गते धरहरा उद्घाटन गरिनेछ।’ 

यसैगरी प्रधानमन्त्री ओलीले व्यापार घाटा सन्तुलनतर्फ फर्काउने प्रयास जारी रहेको बताए। गत वर्ष ‘सफलताको वर्ष’ भएको उनको भनाइ छ। 

जनतालाई आशा र भविष्यप्रति विश्वास जगाउने काम सरकारले गरेको ओलीले दाबी गरे। ‘सरकारले केही गरेन भनेर केहीले भड्काउन खोजे पनि त्यो सफल भएन’, उनले भने। 

देशवासीलाई नयाँ वर्ष २०७८ को शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरे। ‘नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने, ‘उद्योग र विद्यालय केही समय बन्द भए केही समयमै पुनः सञ्चालन गर्न सकिन्छ’, उनले भने। 

प्रधानमन्त्री ओलीले सबै कुराभन्दा जनताको जीवन पहिलो भएको उल्लेख गरेका छन्।