काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा सामान्य अंकको बढोत्तरी भएको छ। 

आज बजार ७.२७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९३९.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.०५ अंकले घटेर ३६४.४२ को विन्दुमा झरेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार अर्जुन थापा करको विषयमा प्रस्ट भएपछि बजार विस्तारै लयमा फर्किरहेको बताउँछन्। ‘विश्वमै आर्थिक मन्दीको अवस्था छ, त्यसको प्रभाव नेपालमा पनि परेको छ’, उनले भने, ‘अहिले बजारमा पैसाको अभाव छ।’

सेयर कर्जा बढेपछि बजार बुल हुने थापाको भनाइ छ। ‘साउन–भदौसम्म बजार २५०० सम्म पुग्न सक्छ’, उनले भने। 

अर्का बजार जानकार यज्ञ घिमिरे बजारमा विस्तारै खरिदचाप बढ्दै गएको बताउँछन्। ‘अब चौथो त्रैमासको रिपोर्ट पनि आउनेछ’, उनले भने, ‘त्यसैले लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजारमा आक्रामक खरिददारी नभएको हो।’

हिजोआज अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेको पनि घिमिरे बताउँछन्। ‘बेच्नेहरु भने पछि हटेको देखिन्छ’, उनले भने, ‘यो राम्रो संकेत हो। आगामी साता पनि बजारले लय समात्ने सम्भावना छ।’ 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

आज व्यापार समूह सर्वाधिक ५.५८ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ५.१६ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.९१ प्रतिशत, वित्त समूहमा १.११ प्रतिशत, लगानी समूहमा ०.७८ प्रतिशत, जीवन बीमा समूहमा १.४९ प्रतिशत, लघुवित्त समूहमा ०.०३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४६ प्रतिशत र अन्य समूह ०.४२ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.९३ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.७८ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.७७ प्रतिशत र बैंकिङ समूहमा २६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका ५९ लाख ६२ हजार ९३ कित्ता सेयर २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक १० करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ८ करोड ७० लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ८ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँ, सोल्टी होटेलको ७ करोड ५३ लाख रुपैयाँ, नागरिक लगानी कोषको ६ करोड ४७ लाख रुपैयाँ, साल्ट ट्रेडिङको ४ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड २७ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको ३ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दोल्ती पावर र भूगोल इनर्जीका सेयरधनीहरु मालामाल भए। आजैबाट दोस्रो बजारमा कारोबार खुलेको दोल्ती पावरको सेयरभाउमा १० प्रतिशत र भूगोल इनर्जीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन रिभर फल्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।