काठमाण्डौ । सार्वजनिक जग्गा र पानीमा प्राकृतिक ग्यास र तेलको विकासलाई प्रतिबन्ध लगाउँदा अमेरिकामा सन् २०२२ सम्म १० लाख अमेरिकीहरुले रोजगार गुमाउनुपर्ने हुन सक्ने भएको छ। यसका साथै यसले अमेरिकालाई अझै धेरै विदेशी तेल आयात गर्न बाध्य पार्नेछ। 

यस्तो दाबी अमेरिकाको शीर्ष तेल तथा ग्यास उद्योग समूहले आफ्नो नयाँ विश्लेषणमार्फत गरेको हो। डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बिडेनको जलवायु योजनामा सार्वजनिक जग्गा र पानीमा नयाँ तेल र ग्यास उत्पादनलाई प्रतिबन्ध लगाउने उल्लेख गरिएकाले अमेरिकी तेल तथा ग्यास उद्योग समूहले यस्तो दाबी गरेको हो। बिडेनको योजनामा नविकरणीय ऊर्जाजस्तै वायु उर्जालाई प्राथमिकता दिइने बताइएको छ। 

अमेरिकी पेट्रोलियम इन्स्टिच्युटका अध्यक्ष तथा सीईओ माइक सोमर्सले संघीय लिजमा गरिने प्रतिबन्धका लागि धेरै नै खतरा रहेको बताएका छन्। यसका साथै यो कदमले दशकौँसम्मको अमेरिकी ऊर्जा क्षेत्रको प्रगतिलाई छायामा पारिदिने र ऊर्जाका लागि विदेशी स्रोतमा निर्भर हुनुपर्ने दिन फर्कने उनले बताएका छन्। 

उनको समूहले यदि यो नीति लागू भयो भने अमेरिकामा सन् २०३० सम्म विदेशी स्रोतबाट हुने तेल आयत प्रतिदिन दुई मिलियन ब्यारेल नाघ्ने दाबीसमेत गरेको छ। – एजेन्सी