काठमाण्डौ । अब सार्वजनिक गाडी चढ्दा यात्रुले पनि फेस सिल्ड (फेस भाइजर) लगाउनुपर्ने भएको छ।

यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैँले गर्नुपर्ने जनाएको हो। सरकारले गत असोज २६ गते नै सार्वजनिक गाडीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेको थियो। त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन्।

सार्वजनिक गाडी पूर्ण यात्रु क्षमतामा सञ्चालन हुँदा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागले जनाएको छ। यो व्यवस्थाले सार्वजनिक सवारीबाट महामारी फैलिने जोखिम कम हुने विभागको भनाइ छ। 

बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर पनि लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्नेलगायतका सावधानी अनाए कोरोनाबाट जोगिन सकिने विभागले जनाएको छ। 

विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरेको छ। सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो। 

अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ।