काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सार्वजनिक स्थानमा धूम्रपान र सूर्तीजन्य पदार्थ सेवनमा निषेध गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी धूम्रपान र सूर्तिजन्य पदार्थ सेवन नगर्न र नगराउन निर्देशन दिएको हो। यसका लागि प्रशासनले ५ बुँदे निर्देशन जारी गरेको छ। 

सूचनामा सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थनमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने कानुनी व्यवस्था रहेको अवगत गराइएको छ। पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्रघर, रंगशाला, धार्मिकस्थल, प्रतीक्षालयलगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ नगर्न र नगराउन उल्लेख छ। 

निर्देशन उल्लंघन गरेको खण्डमा कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। 

यस्ता छन् ५ बुँदे निर्देशन

  • पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रंगशाला, धार्मिक स्थल, प्रतीक्षालयलगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन नगर्ने, नगराउने।
  • स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्रको पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरण नगर्ने, नगराउने।
  • १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ वितरण नगर्ने, नगराउने।
  • सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गरी गराई यस सूचनाको पालना नगरेमा उक्त ऐनको दफा १७ बमोजिम कडा कारबाही गरिने।
  • सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने, नगराउने कार्यमा सुरक्षाकर्मी, सामुदायिक संस्था तथा आम नागरिकबाट आवश्यक जागरुकता, सचेतना र सहकार्य गरिने।