काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ को लाभांश पारित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५३ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।

काठमाण्डौको कालिमाटीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट कम्पनीको सभा सञ्चालन भएको थियो। सभाले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांशबापत १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ र ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँबराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले ८ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै कुल मुनाफा ७३ करोड १४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको थियो । 

सभाले कम्पनीको वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेसनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न क्रियाकलापहरुका बारेमा छलफल एवं समीक्षा गरेको थियो। सभाले आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्न मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । 

कर्पोरेसनको त्यस आर्थिक वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्यांकन गर्दा नुन, रासायनिक मललगायत व्यापारिक कारोबार सन्तोषजनक रहेको देखिएको छ।