काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण जोखिम बढेको अवस्थामा सावधानी नअपनाए बाध्य भएर ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

नेपाल चेम्बर अफ कमर्सको बिहीबार आयोजित ७० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्। ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु। हामीले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सबैले हातमुख धुनेलगायतका काम गर्नुपर्छ’, उनले भने, ‘तर यस्ता किसिमका सावधान नअपनाए बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ।’ 

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणमा राख्न हरसम्भव प्रयास गरिहेको भए पनि आलोचना हुने गरेको गुनासो पोखे। ‘निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तर पनि आलोचना भइराखेको छ’, उनले भने।

कोरोना नाक र मुखमा धेरै समय रहने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तातो वाफ लिने र नुनपानीले कुल्ला गरे धेरै समस्या नहुने बताए। ‘अम्बाका दुइटा पात उमालेर बेस्सरी कुल्ला गर्यो भने पनि कोरोनाबाट बच्न सकिन्छ’, उनले सुझाव दिँदै भने। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्नुपर्ने बताए। आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा उनको जोड थियो।

सोही अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीति निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे।