काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओ निष्कासन भएको दोस्रो दिन बिहीबारसम्म नै २.९३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले बुधबार (असोज ६ गते) बाट १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज साँझ ५ः४५ बजेसम्म १२ लाख ८९ हजार आवेदकबाट कुल १ करोड ८८ लाख ९० हजार कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन आवेदन माग गरेको तुलनामा २.९३ गुणाले बढी हो। 

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। 

यस आईपीओको निष्कासन बन्द असोज १० गते हुनेछ। आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ। 

कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

यो कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।