काठमाण्डौ । आज आईपीओ बाँडफाँड गरेको साहस उर्जा लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।

साहस उर्जाले आफ्ना सेयरधनीहरुको सेयर दाखिल, खारेजलगायतका सेयर सम्बन्धित सबै काम गर्न एनआईबिएल एस क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरेको हो। साहस उर्जा र एनआईबिएल एस क्यापिटलबीच आज सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा साहस उर्जाबाट प्रबन्ध सञ्चालक सुशील थापा र एनआईबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। आजैबाट उक्त सम्झौता लागू हुनेसमेत जनाइएको छ। 
साहस उर्जा २०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीका रुपमा स्थापित भई  २०७१ भदौ २९ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरित भएको थियो।

साहस उर्जाले गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो। आईपीओ बाँडफाँड आज बिहान धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा गरिएको थियो।