काठमाण्डौ । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ । 

दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौतापत्रमा हाईड्रो इनर्जी कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले एक समारोहबीच हस्ताक्षर गरे ।

सिंगटी हाईड्रो ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैंया बराबरको १०० रुपैंया अंकित दरको ४३ लाख ५० हजार कित्ता शेयर आगामी असोजसम्ममा निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता रहेको छ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ ।