काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा २०.३७ प्रतिशत बढी आवेदन परेको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थिया।  जसमा १९ हजार १९८ जना आवेदकबाट १०० रुपैयाँ अंकित दरका १७ लाख ४५ हजार ३५३ कित्ताबराबरको जम्मा १७ करोड ४५ लाख ३५ हजार ३०० रुपैयाँबराबरको आवेदन परेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ। 

विगत झन्डै साढे २ वर्षयता पहिलोपकट कुनै हाइड्रोपावर प्रोजेक्टको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरिएको प्राथमिक सेयरमा मागभन्दा बढी आवेदन परेको हो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको अतिप्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिने व्यवस्था गरिएको थियो। 

स्थानीयले दोलखाको सिंगटीस्थित सेन्चुरी कमर्सियल बैंक, कालिञ्चोक गाउँपालिका वडा नं. २, दोलखास्थित सिंगटी हाइड्रोको कार्यालय, सिंगटीस्थित नेपाल बैंक र नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएका थियो। 

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले बाँकी २९ लाख कित्ता भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने जनाएको छ। 

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।