काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आउँदो चैत ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट यो आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा चैत १० गते र ढिलामा चैत २० गते बैंकिङ समयपछि हुनेछ। 

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।  

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो।

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको रहेको। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।