काठमाण्डौ । व्यापारी व्यवसायीको एक प्रतिनिधिमण्डलले बुधबार सरकारका दुुई सचिवसँग भेटेर हाल ड्राफ्ट भइरहेको उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयकप्रति आपत्ति जनाएको छ । 

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले राजश्व सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायसँग सिंहदरबारमा अलग–अलग भेट गरी आपत्ति जनाएको हो । 

उपभोक्ता संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ९ को दफा ५१ ग मा दश वर्षसम्म कैद वा दश लाखसम्मको जरिवाना वा दुवै सजाँंयको व्यवस्था भएको भन्दै त्यो बुँदालाई हटाउनुपर्ने व्यवसायीको माग थियो । विधेयक अनुसार कानुन बनेमा व्यापार व्यवसाय चौपट हुने चेम्बर अधिकारीको दाबी थियो । सो भेटमा उनीहरुले व्यापारी र व्यवसायीले कालोबजारी र उपभोक्ता मार्ने काम गर्नुहुँदैन भन्ने बिषयमा चाहि कुनै जोड दिएनन् । 

प्रतिनिधिमण्डलले राजश्व सचिव ढुंगानासंँगको भेटमा बैंकको ब्याजदर बढिरहेको प्रति पनि ध्यानाकर्षण गराएको थियो । ७ प्रतिशतमा सीमित बैंकको ब्याजदर बढेर अहिले १७ प्रतिशतसम्म पुगेको भन्दै यसले व्यापारीलाई मर्कामा पारेको उनीहरुको भनाई थियो । प्रतिनिधि मण्डलको नेतृत्व चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए ।