काठमाण्डौ । नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्तानका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ । 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोग सामग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए ।

‘सरकारले निजी क्षेत्रलाई आव्हान ग¥यो, तपाईंहरूले सहयोग जुटाइदिनुभयो,’ मन्त्री खड्काले भने, ‘यो क्रियाकलापले सरकार र निजी क्षेत्रको सहकार्य थप बलियो बनाएको छ ।’

मन्त्री खड्काले नेपाल सन् २०२६ बाट अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेको भन्दै त्यसपछि आइपर्ने चुनौति पनि सरकार र निजी क्षेत्र मिलेर सामना गर्नुपर्ने बताए ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालको कुटनीतिक क्षेत्रमा यो महत्वपूर्ण काम भएको उल्लेख गरे । उनले सरकारको आव्हानमा निजी क्षेत्रले मानवीय सहायतामा सधैं काम गरिरहेको पनि बताए । ‘हाम्रो छिमेकमा परेको अफ्ठ्यारो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्र मिलेर यो उदाहरणीय काम भएको छ,’ उनले थपे ।

अफगानिस्तानमा परेको मानवीय संकट समाधानमा सहयोग गर्ने उद्देश्यले परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधी हस्तान्तरण गरेको हो ।

परिसंघसहित निजी क्षेत्रबाट हस्तान्तरित सहयोग आइतबार काबुल पठाइनेछ । हिमालयन एयरलाइन्सको च्यारिटी उडानमार्फत सहयोग सामग्री काबुल पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।