काठमाण्डौ । एफपीओ निश्कासन भए पनि नबिकेर सकस भोगिरहेको नेपाल बैंकको दोश्रो बजार मूल्य घटेर पुनः एफपीओ मूल्यमै पुगेको छ । केही दिनअघि पनि एफपीओ मूल्य(रु. २८०)मै दोश्रो बजारमा कारोबार भएको यो बैंकको सेयर केही दिन बढेको थियो । बिहीबार घटेर पुनः २८० रुपैयाँमै झरेको हो ।

नेपाल बैंकको मात्र होइन, धितोपत्र बोर्डबाट एफपीओ निश्कासनको स्वीकृति पाएको सिटिजन्स बैंक इन्टरनेशनलको मूल्य समेत घट्न थालेको छ । 

एफपीओ निश्कासनको अनुमति पाएको दिन यो बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २२७ रुपैयाँ थियो । बिहीबारसम्म भने अन्तिम बिक्री मूल्य घटेर २२४ रुपैयामा झरेको छ । यो बैंकलाई धितोपत्र बोर्डले प्रतिकित्ता २०० रुपैयाँको दरमा एफपीओ निश्कासनको अनुमति दिएको हो । मूल्य गिरावटको मार यसैगरी बढ्ने हो भने सिटिजन्स बैंकको दोश्रो बजार मूल्य समेत एफपीओकै स्तरमा झर्नसक्ने प्रवल संभावना छ । 

सिटिजन्सलाई प्रतिकित्ता २०० रुपैयाँको दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासनको अनुमति दिइएको बोर्ड स्रोतले जानकारी दिएको छ । 

सिटिजन्स बैंकले कुल ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओ निश्कासन गर्नेछ ।