काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आगामी मंसिर २० गते शनिबार गर्ने भएको छ । 

गत कात्तिक २८ गते बसेको संचालक समितिको ३४७ आंै बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुन आउने रु. ७२,७१,८५,३८३.१८ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने रु.२७,२६,९४,५१८.६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम. र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।