काठमाण्डौ। तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव अनुमोदन गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैटौँ विशेष साधारणसभा आज बिहीबार सम्पन्न भएको छ। 

काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट आयोजित विशेष साधारणसभाल तिनाउ मिसनलाई प्राप्ति गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले तिनाउ मिसनलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पेस गरेका थिए। 

सभाले तिनाउ मिसन र र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरु पनि अनुमोदन गरेको छ। तिनाउ मिसनलाई १ः०.९६ सेयर स्वाप रेसियोमा बैंकले प्राप्ति गरेको हो। जसअनुसार तिनाउ मिसनको १०० कित्ता सेयर सिटिजन्स बैंकमा आउँदा ९६ कित्ता हुनेछ। 

रुपदेहीको बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनगत माघ १५ गते सम्पन्न वार्षिक साधारणसभाले समेत यो प्राप्ति प्रक्रियालाई अनुमोदन गरिसकेको छ। 

एक महिनाभित्रमा संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए। प्राप्तिपश्चात बैंकको  वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने उनले बताए। 

तिनाउ मिसनलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १०४ अर्ब रुपैयाँ पुग्नेछ। प्राप्तिपश्चात बैंकको कुल १६३ शाखा हुनेछ।