काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले कोरोना कहरका बीच खूद नाफा र वितरणयोग्य मुनाफामा लोभलाग्दो प्रगति गरेको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकले गरेको प्रगति चौथो त्रैमाससम्म पनि निरन्तर रह्यो भने यो बैंकले यो वर्ष १५ प्रतिशतभन्दा माथि लाभांश वितरण गर्नसक्ने क्षमता बनाउने देखिएको छ । 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ३४ करोड ६२ करोड बढी बाँड्न मिल्ने नाफा आर्जन गरेको छ । 

समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब ९ करोड नाफा आर्जन गरेको थियो । यसरी कोरोना प्रभावका बीच उत्पन्न कतिपय दायीत्व र प्रभिजनिंगको व्यवस्थापछि पनि बैंकले खूद नाफातर्फ ४१.६१ प्रतिशतको छलांग मार्ने सफलता प्राप्त गरेको हो । 

अघिल्लो वर्षको तुलनामा बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब २४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यो भनेको १३.१९ प्रतिशतको बढोत्तरी हो । 

बैंकले १ अर्ब ५२ करोडमा सीमित संचालन मुनाफा २९.३८ प्रतिशतले बढाएर १ अर्ब ९७ करोडको उचाई चुमाएको छ । 

बैंकको प्रतिसेयर आम्दानी(इपीएस)तर्फ पनि बढोत्तरी भएको छ । अघिल्लो वर्ष यही अवधिमा  १६ रुपैयाँ १ पैसा रहेको वार्षिकीकृत इपीएस यो वर्ष बढेर १७ रुपैयाँ ६७ पैसा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब २७ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब बढी कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जातर्फ अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकले क्रमशः ४३.६८ प्रतिशत र ३७.९२ प्रतिशतको प्रगति गरेको हो । 

अघिल्लो वर्षको यही अवधिसम्म ४ अर्ब ३२ करोडमा सीमित रिजर्बको आकार बढाई ५ अर्ब ४६ करोड पुर्याएको बैंकको यो अवधिमा चुक्तापूँजी पनि ९ अर्ब ८ करोडबाट बढेर ११ अर्ब ६६ करोड पुगेको छ । 

तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई अक्वायर गरी एकीकृत कारोबार सुरु गरिसकेको यो बैंक सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम चरणमा छ । 

समीक्षा अवधिमा बैंकको क्यापिटल एडेक्वेसी रेसियो १३.८६ प्रतिशत, खराब कर्जा अनुपात १.८३ प्रतिशत, कस्ट अफ फण्ड ५.७१ प्रतिशत, बेस रेट ७.४४ प्रतिशत, सीसीडी रेसियो ७८.१३ प्रतिशत, पीई रेसियो १८.४५ गुणा कायम भएको छ ।