– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये एउटा हो, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड। बैंकले रेमिट्यान्स, निक्षेप तथा कर्जा प्रवाहलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका राजधानी तथा राजधानीबाहिर गरेर १९१ वटा शाखा छन्। बैंकको आफ्नै क्यापिटल पनि छ।

आधारभूत पक्ष 

आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म बैंकको हालको चुक्तापुँजी १२ अर्ब ५७ करोड रहेको छ। जगेडा कोषमा ४ अर्ब ४१ करोड रुपैयाँ तथा रिटेन अर्निङमा १ अर्ब ६८ करोड १० लाख रुपैयाँभन्दा बढी रहेको बैंकको प्रतिसेयर आम्दानी १२.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ। 

बैंकको निष्क्रिय कर्जा २.७७ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्षहरुको तुलनामा बढ्दो क्रममा रहेको छ। 

चौथो त्रैमाससम्म बैंकले १ खर्ब ४० अर्ब ६३ करोड रुपैयाँबराबर निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँबराबर कर्जा परिचालन गरेको देखिन्छ। बैंकको रिर्टन अन इक्विटीमा ८.५६ प्रतिशत रहेको छ। जुन गत वर्षहरुको तुलनामा घट्दै गएको देखिन्छ। सेयर लगानीकर्ताहरुले बफेट सिद्धान्तअनुसार बढ्दो रिर्टन अन इक्विटी भएको संस्थामा लगानी गर्नु उपयुक्ता हुन्छ। 

बैंकको हालको सीडी रेसियो ७७.४२ प्रतिशत रहेको छ भने आधार दर ७.५५ प्रतिशत रहेको छ। बैंकले गत आर्थिक वर्षका लागि १६ प्रतिशत लाभांश प्रस्ताव गरिसकेको छ। 

बैंकको मूल्य आम्दानी अनुपात ३१.२० गुणा छ भने प्राइस टु बुक भ्यालु २.६७ गुणा छ। प्राइस टु बुक भ्यालु २ गुणाभन्दा कम वा बराबर हुन्छ भने दीर्घकालीन लगानी गर्न उपयुक्त हुने बफेट सिद्धान्त बताउँछ।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। 

यो बैंकले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ ५ सकिएर ए, बी, सी बन्दै गरेको देखिन्छ। इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (३) सकिएर वेभ (४) बन्दै सेयरको मूल्य ३६८ सम्म आएको छ। अब सोही डिग्रीको वेभ (५) बनाउन सेयरको मूल्य केही सयममा ५०० सम्म पुग्न सक्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो बैंकको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा ४३४ रुपैयाँमा, ०.३८ प्रतिशतको टेवा ४११ रुपैयाँमा, ०.५ प्रतिशतको टेवा ४०० रुपैयाँ, ०.६१ प्रतिशतको टेवा ३९१ रुपैयाँसम्म र ०.७८ को टेवा ३७७ रुपैयाँसम्म हुन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत अगस्ट १५ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल बनेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्य बिक्रीचाप हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो बैंकको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ र रातो मारुबुजु क्यान्डल बनेको छ। यसले सेयरमूल्यमा उच्च बिक्री आएको बुझिन्छ। मूल्यरेखा मध्यरेखानजिक रहेको छ। यसले अल्पकालीन लगानीकर्ता केही समय पर्ख र हेरको अवस्थामा रहेको जनाउँछ भने दीर्घकालीन लगानीकर्ताका लागि खरिदको अवसर हुन सक्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई ४८ रहेको छ। जसलाई ननट्रेडिङ जोन भनेर बुझिन्छ। अघिल्लोपटक यो न्यून विन्दु ३७.३४ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्च विन्दु ७६.७७ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्य बियरिस सिग्नल देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ४०२
  • प्रतिराध २– ४०८
  • प्रतिराध ३–  ४१९

पिभट प्वइन्ट : ३९७

घटेमा सर्पोट 

  • सपोर्ट १– ३९१ 
  • सपोर्ट २– ३८६
  • सपोर्ट ३– ३७५

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।