काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आगामी कात्तिक १६ गते आफ्नो १५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकको असोज २५ गते बसेको संचालक समितिको ३८० औं बैठकले कात्तिक १६ गते मंगलबार बैंकको प्रधान कार्यालय रहेको भवनमै १५ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

साधारणसभा साँझ ४ बजेदेखि सुरु हुने सूचनामा उल्लेख गरिएको छ । 

साधारणसभामा विशेष प्रस्तावको रुपमा संचालक समितिबाट प्रस्ताव गरेअनुसार चुक्तापूँजीको १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१.१० रुपैयाँ बराबरको बोनस सेयर  वितरण गर्न स्वीकृति प्रदान गर्ने विषय समावेश गरिएको छ । 

योसँगै बैंकको चुक्तापूँजी र जारी पूँजी वृद्धिको प्रस्ताव समेत विशेष प्रस्तावकै रुपमा सभामा प्रस्तुत हुनेछ छ। 

सिटिजन्स बैंकको सो साधारणसभाले भविष्यमा हुने संभावित मर्जरको सम्पूर्ण अख्तियारी संचालक समितिलाई समेत प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसैगरी, प्रस्तावित बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनसमेत गरी बैंकको सभामा ३.०८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पेश हुनेछ । 

यस्तै, बैंकको नियमावलीअनुसार समूह ख का सर्वसाधारण सेयरधनीकोतर्फबाट संचालक समितिका प्रतिनिधित्व गर्ने २ संचालक पदको निर्वाचन समेत हुने बताइएको छ ।