काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको १५ औं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा कात्तिक १६ गते मंगलबार नारायणहिटीपथस्थित केन्द्रीय कार्यालय रहेको भवनमा सम्पन्न १५ औं साधारणसभाले संचालक समितिबाट गएको १६ प्रतिशत लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभाले पारित गरेको हो । बोनस शेयर वितरणपछि बैककोे चुक्तापुजी १४ अर्ब २० करोड पुगेको छ। 

सभाले २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित समेत गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको बैंकले जनाएको छ । 

साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालकको रुपमा प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई निर्विरोध चयन गरेको छ । 

सभामा अध्यक्ष भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्नसक्ने विश्वास व्यक्त गरे । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक सम्ममा करिव रु.१ खर्ब ४६ अर्ब  निक्षेप संकलन गरेको छ भने रु. १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिभित्र रु. ६९ करोड खुद मुनाफा आर्जन गरेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११२   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।