काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि काठमाण्डौको कमलादीस्थित आफ्नै भवनमा काउन्टर विस्तार गरेको छ।

यसअघि काठमाण्डौको नारायणहिटी पथस्थित बैंकको प्रधान कार्यालयमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै अबोपरान्त ग्राहकलाई छिटो, छरितो, झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीस्थित आफ्नै भवनबाट पनि विशेष बैंकिङ  सेवा सुरु गरिएको बैंकले जनाएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १२ लाख ५० हजार  ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 

कोरोनाभाइरस महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ। 

कोभिडको त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि-म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत बैंकले मिलाएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र  डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।