काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निजका पति जब्बर अली तेलीलाई रु. ३ लाख ६५ हजार ७७४.६० तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निजका छोरा रामचन्द्र कोरीलाई रु. ४ लाख ५४ हजार १२२.५८ नगद हस्तान्तरण गरेको छ। 

उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यही मंसिर २१ गते एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजकिरिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो। 

सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाइमार्फत करिब १४ हजार विपन्न महिलालाई लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १२  लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 

कोरोना महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकका वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ। 

यसका साथै कोभिडको त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि–म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थ समेत मिलाएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने,  डिजिटल बैंकिङ सभ्यताको विकास भई  कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।