काठमाण्डौ । हिमालयन बैंकसँगको मर्जर टुटेपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडसँग मर्जरको सम्झौता गर्ने बजारमा विश्लेषण भइरहेको छ । यसअघि यी दुई बैंकका संचालकबीच संभावित मर्जरका लागि एकपटक बैठक भए पनि इन्भेष्टमेन्ट हिमालयनसँग मर्ज हुने गरी अगाडि बढेपछि थप प्रगति हुन सकेको थिएन । तर, मर्जर हुनै लागेको अवस्थामा हिमालयन र इन्भेष्टमेन्ट बैंक टाढिने अवस्था बनेपछि राष्ट्रबैंकको सम्भावित कारबाहीबाट बच्न पनि दुवै बैंकले तत्काल कुनै न कुनै बैंकसँग मर्जर गर्नैपर्ने बाध्यता छ । यहीकारण यतिबेला इन्भेष्टमेन्टसँग सिटिजन्सलाई जोडेर चर्चा सुरु गरिएको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल पछिल्लो समय निकै बलियो बन्दै गएको र उसको बुक भ्यालू पनि आकर्षक बनिरहेको अवस्थामा इन्भेष्टमेन्ट बैंकले यस्ता संस्थासँग मर्ज गर्ने अवसर पाए त्यसले सिनर्जी पैदा गर्ने कुरामा दुईमत नहोला । तर, डेढ वर्षअघि यी दुई बैंकका प्रभावशाली संचालकबीच ठमेलको छायाँसेन्टरमा कुरा भए पनि त्यसपछि भने यिनीहरुबीच मर्जरको एंगलबाट परिणाममुखी कुनै पनि छलफल नै हुन सकेको छैन । दुवैतर्फका केही संचालकहरु भने अनौपचारिक छलफलमा रहेका स्रोतहरु दाबी गर्छन् । 

छलफल अत्यन्त प्रारम्भिक चरणमा रहे पनि सिटिजन्स बैंकका संचालक भने राम्रो मूल्य पाए इन्भेष्टमेन्ट बैंकसँग मात्र नभई जुनसुकै राम्रो वाणिज्य बैंकसँग मर्जरमा जान तयार रहेको बताउँछन् । उनीहरुको संकेत जुनसुकै वाणिज्य बैंक भने पनि इन्भेष्टमेन्टले बराबरी हैसियतको मर्जरको अफर गरेमा तत्काल सम्झौता गर्ने भन्नेतर्फ देखिन्छ । 

सिटिजन्स बैंकका केही संचालकले इन्भेष्टमेन्टसँग अनौपचारिक छलफल गरी यसलाई अगाडि बढाउने रहर गरे पनि अध्यक्ष राजनसिंह भण्डारीले नचाहेसम्म त्यो अगाडि बढ्ने संभावना हुन्न । अध्यक्ष भण्डारी हाल अमेरिकामा रहेका छन् । उनी अमेरिकाबाट फर्किएपछि मात्र इन्भेष्टमेन्ट वा संभावित अन्य कुनै वाणिज्य बैंकसँग सिटिजन्सको मर्जर एमओयू हुनसक्छ । तर, भण्डारी सुरुवातदेखि नै सिटिजन्सको पहिचान गुम्ने मर्जरका कुनै पनि प्रस्तावप्रति सकारात्मक नरहेकोले अवस्था अनुमान गरेजस्तो नहुनसक्छ ।  

हाल नेपालमा उपलब्ध सिटिजन्सका संचालकहरु भने आफूहरुले साना प्रादेशिक स्तरका वित्तीय संस्था प्राप्ति गर्दा जुन उदारता देखाएको थियो, इन्भेष्टमेन्ट वा अन्य कुनै बैंकबाट त्यस्तै उदार प्रस्ताव आए मर्जरमा जान सकिने बताउँछन् । तर इन्भेष्टमेन्टका संचालकको उदार मन नरहेको उनीहरुको बुझाई छ । ‘उहाँहरु जो कसैसँग पनि मर्जरमा जान खोज्दा पेलेर अगाडि बढ्नु खोज्नु्हुन्छ, त्यो कसैलाई स्वीकार्य हुन्न ।’ एक संचालकले भने–‘अझ सिटिजन्स बैंकले त आफ्नो पहिचान नमेटिने गरी मर्जरको विषयमा अगाडि बढ्ने निर्णय नै गरेकोले आफ्नो अड्डी नछाड्ने, उदार नहुनेहरुसँग सम्झौता हुनसक्ने संभावना चाहिँ देखिन्न ।’ 

उसो भए कसरी अगाडि बढ्छ त सिटिजन्स बैंक ?
संचालकहरुको भनाईमा सिटिजन्स बैंकले पछिल्ला केही वर्षमा जे जस्तो रणनीति अख्तियार गरेको छ, त्यो सफल बन्दै गएको छ । यसैको फलस्वरुप केही वर्षअघिसम्म कमजोर वाणिज्य बैंकमध्येमा पर्ने सिटिजन्स अहिले हरेक हिसाबले बलियो बन्दै गएको छ । २७ वाणिज्य बैंकमध्ये हाल सिटिजन्स बैंक वासलातको आकार, नाफा, लाभांश क्षमता वा विगत २ वर्षको लाभांश इतिहास लगायतको हिसाबले उत्कृष्ट १५ बैंकमध्येमै पर्न सफल भइसकेको छ । यो बैंकले केही महिनाअघि ५ वर्षे रणनीति सार्वजनिक गर्दै चाँडै ‘टप टेन बैंक’भित्र पर्ने गरी अगाडि बढ्ने घोषणा नै गरेको थियो । बैंक व्यवस्थापनको ‘दिन दुई गुणा, रात चौगुणा’को प्रगति हेर्ने हो भने यो बैंक चाँडै नै ‘टप टेन’मा पर्नसक्ने प्रशस्त आधारहरु देखिन्छन् । 

सिटिजन्स बैंकले पछिल्लो समय प्रादेशिक स्तरका वित्तीय संस्थाहरुलाई प्राप्ति गर्दै आफ्नो आकार बढाइरहेको छ । आगामी दिनमा पनि यो बैंकले केही साना संस्थाहरु लिनसक्ने प्रवल संभावना रहेको स्रोत दाबी गर्छ । यो बैंकले प्रादेशिक स्तरमा बलियो ढंगले उपस्थिति जनाइरहेका वित्तीय संस्थाहरुलाई गाभ्ने प्रयासलाई जारी राखेको छ । ‘पोखरा फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लगायतका साना वित्तीय संस्थाहरु निकट भविष्यमा सिटिजन्समा गाभिने सम्झौतामा पुगे भने अचम्म नमान्दा हुन्छ ।’–स्रोतले भन्यो । 

सिटिजन्स बैंक भविष्यमा कसैसँग मर्जर गर्दा आफ्नो पहिचान कायम राख्ने गरी अगाडि बढ्ने कुरामा अडिग देखिन्छ । एक संचालकले पछिल्लो समय सिटिजन्स बैंकले तयार गरेको मर्जरको न्यूनतम मापदण्ड तथा शर्त समेत बिजशालालाई सुनाएका छन् । ‘हाम्रो रणनीति आफ्नो पहिचान(सिटिजन्स बैंकको नाम)लाई यथावत कायम राखी र आफ्नो सेयरको अनुपात १ः१ भन्दा कम नहुने गरी नेपालको कुनै पनि बैंक र वित्तीय संस्थालाई प्राप्ति रहेकोमा ‘क’ वर्गको बैंकसँगको मर्जर र प्राप्ति गर्ने कार्यको विकल्पलाई खुल्ला राख्दै ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थासँगको मर्जर र प्राप्ति कार्यलाई उच्च प्राथमिकतामा राख्ने भन्ने छ।’ ती संचालकले भने–‘हामीलाई मर्जर वा प्राप्ति गरिदेऊ भनेर हामी कसैसँग जाँदैनौ, तर कोही हामीसँग वार्ता गर्न आउँछ भने बस्न तयार रहन्छौ । वार्तामा कुरा मिल्यो भने मर्जर वा प्राप्तिका लागि आउने प्रस्ताव तत्काल अगाडि बढाउन हामी तयार छौं।’ 

बजारमा कतिपयले भने सिटिजन्स बैंक र सिभिल बैंकबीच मर्जर हुनसक्ने हल्ला चलाइरहेका छन् । यो विषयको वास्तविकता समेत हामीले जाँच गर्ने प्रयास गरेका थियौं । सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे र सिटिजन्स बैंकका मर्जर कमिटी संयोजक प्रवलजंग पाण्डे दाजुभाई हुन् । यही कारण कतिपयले सिटिजन्स र सिभिलबीच मर्जरको संभावना औंल्याए पनि वास्तविकता त्यस्तो नरहेको स्रोत बताउँछ ।