काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड दोश्रो त्रैमासमा १ अर्ब बढी कमाउने बैंक बन्न सफल भएको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब २३ करोड नाफा आर्जन गर्ने सफलता पाएको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८७ करोड ५१ लाख मात्रै नाफा कमाएको थियो । यसरी बैंकको नाफा ४१.६० प्रतिशतले बढेको देखिएको छ ।  

समीक्षा अवधिमा सिटिजन्स बैंकको संचालन मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष १ अर्ब १६ करोडमा सीमित संचालन मुनाफा बढेर १ अर्ब ६९ करोडको उचाईमा पुगेको हो । 

यो अवधिका लागि वितरणयोग्य मुनाफा ७४ करोड ५९ लाख रुपैयाँ रहेको छ । 

व्यवसाय वृद्धिमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ६१ करोडमा सीमित खूद ब्याज आम्दनी बढेर यो वर्ष २ अर्ब ३९ करोड बढी पुगेको हो । यसरी बैंकको खूद ब्याज आम्दानी ४८ प्रतिशतले बढेको देखिएको छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ४१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ४० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.४५ रुपैयाँ रहेको छ भने बैंकले अघिल्लो वर्षको यही अवधिसम्म २.४२ प्रतिशत रहेको खराब कर्जालाई घटाएर १.८७ प्रतिशतमा सीमित पार्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८९.६९ प्रतिशत, बेस रेट ९.०८, मूल्य आम्दानी अनुपात १७.३३ गुणा, प्रतिसेयर कूल सम्पत्तिको मूल्य १२४०.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.८४ रुपैयाँ कायम भएको छ ।