काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित श्री तिनाउ इन्टरनेसनल हस्पिटल प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी भएको छ। 

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले श्री तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउनेछन्। यसका साथै हस्पिटलबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको छ। 

यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ। यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ। यसका साथै ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत बैंकले स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञाशा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५७९००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्। 

यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।