काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ।

सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने स्वास्थपरीक्षणहरुमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् भने  ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेस्टमा ३० प्रतिशतसम्म छुट दिइनेछ। यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परीक्षण र चिकित्सक परामर्शजस्ता सेवा निःशुल्क पाउनेछन्। दीर्घरोगीहरुका लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ। 

यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएकोे छ। यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ  उत्प्रेरित गर्नेमा पनि बैंक विश्वस्त छ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ। 

यसका साथै ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले बैंकले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्। यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।