– रेखा चन्द
काठमाण्डौ । हालसम्म तीनवटा बैंकले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेका छन्। दुई वाणिज्य बैंक र एउटा पूर्वाधार विकास बैंकले लाभांश घोषणा गरेका हुन्।
सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) छन्। यी बैंकले सेयरधनीलाई नगद प्रतिफलमात्रै दिने घोषणा गरेका छन्।
विगतका वर्षहरुमा बोनस सेयर र नगद लाभांश दुवै वितरण गर्दै आएका बैंकहरुले यस वर्ष नगदलाई प्राथमिकता दिएका छन्।
सिटिजन्स बैंकले चुक्तापुँजीको ९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांश अनुमोदन गर्न बैंकले आगामी कात्तिक ४ गते १६ औँ वार्षिक साधारणसभा डोकेको छ।
सभाले नगद लाभांश पारित गरेपश्ताच सेयरधनीलाई तिहारअगावै लाभांश बाँड्ने सिजिटन्स बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए। बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ। हाल बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ।
उता कुमारी बैंक र निफ्राले तिहारअघि नै नगद लाभांश बाँड्ने सम्भावना न्यून छ। नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी रहेकाले यी दुई बैंकले तिहारअघि लाभांश वितरण गर्ने सम्भावना न्यून रहेको हो।
कुमारी बैंकले आफ्ना सेयरधनीहरुलाई २०७८–७९ को नाफाबाट चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ।
यसैगरी निफ्राले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ।
निफ्राका सीईओ रामकृष्ण खतिवडाले तिहारअघि वार्षिक साधारणसभा हुने सम्भावना एकदमै कम रहेको बताए। ‘वित्तीय विवरण स्वीकृतका लागि राष्ट्र बैंकमा पठाएका छौँ। हामी स्वीकृतिको पाइपलाइनमै छौँ’, उनले भने, ‘राष्ट्र बैंकबाट स्वीकृत भइहाले पनि तिहारअघि एजीएम हुने सम्भावना एकदमै कम छ।’
कुमारी बैंकले पनि एजीएमको टुुंगो नलागेको जनाएको छ। ‘अहिलेसम्म एजीएम कहिले हुन्छ भनेर समय तय भइसकेको छ्रैन’, बैंकका एक अधिकारीले भने, ‘त्यसैले तिहारपछि मात्रै एजीएम हुने सम्भावना छ।’
5 minutes ago
26 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago