-भक्तराज रसाइली
काठमाण्डौ । नेप्से र सिडिएससीको बदमासीका कारण सेयर खरिदबिक्री गर्दा लाभकर गणनाका लागि  बनाइएको नयाँ सिस्टममा भारित औसत लागत गणना विधिकै कारण घाटामा समेत लाभकर तिर्नु परिरहेको भन्दै लगानीकर्ताहरुले चौतर्फी विरोध गरिरहेका छन् । 

लगानीकर्ताको चर्को विरोध आए पनि त्रुटिपूर्ण व्यवस्था सच्याउने विषयमा न नेप्से, न त सिडिएससीले नै चासो देखाएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सीइओ तथा सिडिएससीका अध्यक्षसमेत रहेका चन्द्रसिह साउद र सिडिएससीका निवर्तमान सीइओ देवप्रकाश गुप्ताको भित्री योजना मुताबिक नै लाभकर गणना जटिल बनाइएको रहस्य स्रोतहरुले खुलाएका छन् । 

२०६४ सालमा नेप्सेले संचालनमा ल्याएको अर्धस्वचालित सिस्टमअनुसार भएका सेयर कारोबारहरुको तथ्यांक अझै पनि  नेप्सेसँग सुरक्षित रहेको नेप्सेका एक उच्च पूर्वाधिकारीले बताए ।  

नेप्सेमा नेतृत्व हाँक्नुअघि  साउद सेयर बजारको निक्कै उम्दा खेलाडीका रुपमा चिनिन्थे । हाल अर्कैको नाममा सेयर कारोबार समेत गर्दै आएका उनी बजार घटे ठूलो भोल्यूममा सेयर उठाउने दाउमा रहेकाले समेत बजार घटाउन प्रणालीगत र नीतिगत रुपमा लाभकर गणना असहज बनाइरहेको नेप्सेस्थित उच्च स्रोतले दाबी गरेको छ । 

उसो त सिडिससीका सीइओ गुप्ता पनि दोश्रो कार्यकाल लम्ब्याउन नेप्सेका सीइओलाई रिझाउने खेलमा लागेका स्रोत बताउँछ ।  

गत साउन १ गतेदेखि कार्यान्वयनमा आएको भारित औसत लागत विधीका लागि अर्थमन्त्रालयले २०७५ फागुनमा नै आवश्यक तयारी गर्न पत्रचार गरेकोमा सो कुरा नेप्सेका सीइओ साउद र सिडिएससीका सीइओ गुप्ताले लुकाएर राखेका थिए । हाल बनिरहेको सिस्टममा केही सुधार गरेजस्तो गर्ने, तर पूर्ण सहज नबनाउने गोप्य योजना मुताबिक नै साउद र गुप्ताको सेटिङ भएको स्रोत बताउँछ । 

हाल सिडिएससीले प्रायः दैनिकजसो सिस्टम अपडेट गर्दै गरेको एक आइटी जानकार बताउँछन् । यसले पनि यो योजना प्रमाणीत गरिरहेको बताइन्छ ।

सो सिस्टमलाई मूर्त रूप दिन गुप्ता नै चाहिने योजना बमोजिम नै पुनः गुप्तालाई दोश्रो कार्याकाल थप्ने वातावरण निर्माणका लागि समेत लाभकर घोषणाको भद्रगोल व्यवस्था गरी अवस्था जटिल बनाइएको स्रोतको भनाई छ ।  

गत कात्तिक १२ गतेदेखि सिडिएससीमा सीइओ पद रिक्त छ, तर अध्यक्षसमेत रहेका साउदले सिडिएससीमा नयाँ सीइओ नियुक्तिका लागि कमिटी गठनमा आनाकानी गरिरहेका छन्, यसमा पनि खेल रहेको स्रोत दाबी गर्छ ।

यसैबीच, नेपाल धितोपत्र बोर्डका केही अधिकारीहरु र नेप्सेका उच्च अधिकारीहरुले ४–५ जना ठूला लगानीकर्ताहरुलाई सिध्याउनकै लागि लाभकर गणना अप्ठ्यारो मोडतर्फ धकेलेको स्रोतको दाबी छ।

एफपीओ,आइपीओ, बोनस र हकप्रदको सम्बन्धमा कुनै समस्या छैन । अक्सनको सम्बन्धमा कट अफ प्राइसलाई सिस्टमबाटै लगानीकर्ताले लागत हाल्न पाउने व्यवस्था छ, तर अन्य ब्रोकरबाट खरिद भएको सम्बन्धमा सम्बन्धित ब्रोकरबाट विभिन्न  आर्थिक वर्षको लेजर अनुसार सिस्टम बनाउन सकिन्थ्यो । मानौं बुबाले ५ वर्षअघि १५ सयमा नबिल बैंकको सेयर खरिद गरेको छ, तर अहिले पारिवारिक नामसारी गर्दा छोराले १ सय मात्रै राख्न पाउँदछ । १४ सय ठाडै घाटामा लाभकर तिर्नुपरेको अनामनगरस्थित इम्पेरियल सेक्युरिटीजमा भेटिएका एक लगानीकर्ताले गुनासो राखे । बुबाबाट प्राप्त भएको सम्बन्धमा नामसारी भएको मितिको बजार मूल्यलाई लिन समेत सिडिएससी चुकेकै छ।

‘मेरो सेयर’ पोर्टलबाट भण्डार र कारोवारको अभिलेख राख्ने सिडिएससीले हालै प्रयोगमा ल्याएको भारित औसत गणना विधीमा केही व्यवहारिक समस्याहरू देखिएको सेयर बजार जानकार दिलीप मुंनकर्मी बताउँछन् । लागत स्वीकार र प्रमाणित गर्दा अलि सचेत बन्न मुनकर्मीले आग्रह गरेका छन् । 

उनका अनुसार बोनस र हकप्रदको सवालमा बुक क्लोजपछि शेयर बेचेको वा खातामा बोनस र हकप्रद नआउँदै बेच्दा लागत औसत नहुने हुँदा बोनस र हकप्रदमा घाटामा पनि कर तिर्नुपर्ने देखिएको छ । 

यसैगरी, एफपीओमा किनिएका शेयरको लागत फरक देखिएको उनको भनाइ छ। लिलामीमा खरिद शेयरको वास्तिवक मूल्य प्रविष्टिमा प्रमाणगत व्यवहारिक समस्या रहेको उल्लेख गर्दै  एक डिपीबाट अर्कोमा सारेका शेयर समेत अंकित मूल्य भएको मुनकर्मी बताउँछन्।

लागेका आरोप र भद्रगोल प्रणालीको विषयमा बुझ्न खोज्दा नेप्सेका सीइओ साउदले फोन उठाएनन् ।