काठमाण्डौ । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि लकडाउन २ साता थप गरिएको छ। 

सिड्नीमा डेल्टा भेरियन्टबाट १ हजारभन्दा बढी संक्रमित भएका छन्। योसँगै सिड्नीमा लकडाउन पुनः २ साता थपिएको हो। 

अस्ट्रेलियामा कोरोना संक्रमणको मामिला बढ्दै गएपछि गत जुनको पहिलो साताबाटै कडा लकडाउन गरिएको छ। सरकारले संक्रमितको संख्या बढ्न थालेपछि परीक्षणको दायरा बढाएको छ। अहिले अस्ट्रेलियामा सडकमा आवतजावत गर्नेको पनि स्वा परीक्षण अनिवार्य गरिएको छ। 

कडा लकडाउन लगाएसँगै नागरिकले अतिआवश्यकबाहेक घरबाट बाहिर हिँडडुल गर्न रोकेको सिड्नीमा बसोबास गर्ने नेपालीहरु बताउँछन्। सिड्नीनिवासी यादव पौडेल लकडाउनका कारण विगत १ महिनादेखि आफूहरु घरभित्रै रहेको र कम्पनीले बेतलबी बिदामा राखेको गुनासो गरे। ‘तलब नपाउँदा तनाब भएको छ, खर्च धान्नै मुस्किल भइरहेको छ’, पौडेलले भने। 

पौडेल केही वर्षपहिले अस्ट्रेलिया वर्किङ भिजामा गएका थिए। ‘वर्किङ भिजामा आएका विदेशी कामदारलाई बेतलबी बिदा दिनु विकसित देशमा अनौठो प्राक्टिस भएको छ’, उनले भने। 

बेलायत र अमेरिकमा वर्किङ भिजामा बस्ने र सरकारलाई कर तिरेका नागरिकको हकमा ८० प्रतिशतसम्म तलब सरकार र कम्पनीले व्यहोरेको पौडेलको भनाइ छ। ‘अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई भने सेवासुविधामा कुनै कमी गरेको छैन’, उनले भने, ‘विदेशी कामदारमाथि भने विभेद गर्यो।’