काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ। 

आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३२.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड रुपैयाँ बढी रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३०.५७ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब १६ लाख रुपैयाँ रहेको थियो।

यो अवधिसम्म बैंकले ५ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ४९.४८ प्रतिशतले बढेर ९ अर्ब ३० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्षसम्म रिजर्भमा ६ अर्ब २२ करोड रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी १० अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकले निष्क्रिय कर्जा (एनपीएल) १.३८ प्रतिशतबाट घटाएर १.१६ प्रतिशतमा झार्न सफल भएको छ। सीसीडी रेसियो ७७.४२ प्रतिशत रहेको बैंकको आधार दर ७.१६ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.५५ रुपैयाँबाट बढेर २५.८७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १४.७० प्रतिशत रहेको थियो। पीई रेसियो १९.४८ गुणा रहेको बैंकको प्रतिसेयर आम्दानी १८४.८६ रुपैयाँ रहेको छ।