काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन्।

काठमाण्डौको हात्तिसारस्थित बैंकको केन्द्रीय कार्यालयमा सोमबार बसेको सञ्चालक समितिलाई कँडेललाई सीईओमा नियुक्त गरेको हो।

कँडेललाई मंसिर २७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको हो। 

कँडेल यसअघि बैंकको कामय मुकायम सीईओ थिए। 

बैंकिङ क्षेत्रको सेवामा नवनियुक्त सीईओ कँडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ। व्यवस्थापनमा स्नातकोत्तर कँडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत ४ वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आएका थिए। 

बैंक सञ्चालनमा विशेष दखल राख्ने कँडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नुअगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्यानुभवसमेत सँगालेका छन्। 
सीईओमा कँडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाइमा लैजान मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।