काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ। 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश छन्। 

सोही सभाले बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

अन्य बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्यिारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पनि सभामा छलफल गरी पारित हुनेछन्। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गते (पुस १६ गते शुक्रबार र पुस १७ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।