काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले मंगलबार काठमाण्डौको फसिकेब मार्गस्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई डायलाइसिस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। 

उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन्। 

बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरी मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नका लागि उपयोग गर्नेछ। मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको प्राविधिक सहयोगमा गौशालास्थित पशुपति गौशाला धर्मशालाबाट  उक्त सेवा प्रदान गर्नेछ।

बैंकले पुर्याएको उक्त रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरुलाई डायलाइसिस सेवा दिएर जीवनस्तर सुधार गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरुमा सहभागिता जनाउँदै आएको छ। आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता र निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ।