काठमाण्डौ । सिद्धार्थ बैंकको १ लाख १४ हजार कित्ता बढी सेयर आज चैत १४ गतेबाट बिक्रीमा राखिएको छ। 

बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी विनोदकुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता छन्।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई लिखित आवेदन दिनुपर्नेछ। 

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन पेस नभएमा अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुलाइने बैंकले जनाएको छ।