काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेड आजबाट ११ वर्ष पूरा गरी १२ वर्ष प्रवेश गरेको छ। 

वार्षिकोत्सव बैंकको कर्पोरेट कार्यालय बनेपामा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। यस उपलक्ष्यमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा बजारनजिक रहेको चण्डेश्वरी भगवती मन्दीर तथा धनेश्वर शिवालयमा केही थान डस्टबिनहरु वितरण गर्नुका साथै बैंकले भोलि शुक्रबारका जिल्ला रेडक्रस कार्यालय काभ्रेको सहयोगमा बैंकको कर्पोरेट कार्यालय बनेपामा खुला रक्तदान कार्यक्रमको आयोजना समेत गरेको जानकारी दिएको छ। 

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकका रुपमा स्थापित बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सीमित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकको सुविधाका लागि सम्पूर्ण शाखा कार्यालयमार्फत सन्ध्याकालीन बैंकिङ सेवा, मोबाइल बैंकिङ, एसटीसी डेबिट कार्ड, एसएमएस बैंकिङ, क्यूआर कोड र सि–आस्बालगायत सेवाहरु प्रदानसमेत गर्दै आइरहेको छ।