काठमाण्डौ । हिमालयन बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको सिभिल बैंक लिमीटेडले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा अधिकांश मुख्य सूचकमा आकर्षक प्रगति गरेको छ । 

बैंकले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश मुख्य सूचकमा लोभलाग्दो प्रगति भएको देखिएको हो । 

पछिल्लो समय आकर्षक प्रगति गरेर आफूलाई बलियो वित्तीय संस्थाको रुपमा उभ्याएकै कारण हिमालयन बैंकले सिभिललाई १००ः८१ को सम्मानजनक सेयर स्वाप दिनुपरेको थियो । सिभिलले आफूलाई अझ अब्बल बंैकको रुपमा अगाडि बढाउँदै डबल डिजीटको लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा यो बैंकको लाभांश क्षमता ५.२६ प्रतिशत मात्र थियो । यो वर्ष त्यसलाई बढाएर ११ प्रतिशत पुर्याएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको कुल वितरणयोग्य मुनाफा ४५ करोड ६१ लाख रुपैयाँमा सीमित थियो । त्यसलाई बढाएर यो वर्ष १ अर्ब ६३ लाखको उचाई चुमाएको हो । 

बैंकले खूद नाफामा पनि १६२.३६ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५२ करोड ७७ लाख रुपैयाँ रहेको खूद नाफा बढेर समीक्षा अवधिमा १ अर्ब ३८ करोड माथि पुगेको हो । 

अघिल्लो वर्ष २ अर्ब २१ करोडमा सीमित खूद ब्याज आम्दानी पनि बढेर यो वर्ष ३ अर्ब ६४ करोड रुपैयाँको उचाईमा पुगेको छ ८८ करोड ३२ लाखमा सीमित संचालन मुनाफा बढेर २ अर्ब ११ करोडको उचाईमा पुगेको छ । 

यस्तै, अघिल्लो वर्षको चौथो त्रैमाससम्म बैंकले ९० अर्ब ३४ करोड बढी निक्षेप संकलन गरी ८३ अर्ब ३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

समीक्षा वर्षको चौथो त्रैमाससम्म ९६ अर्ब ३ करोड बढी निक्षेप संकलन गरी ८७ अर्ब ९ करोड बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५५ करोडमा सीमित रिजर्बको आकार बढेर १ अर्ब ९३ करोड पुगेको छ भने नाफामा आएको उछालका कारण प्रतिसेयर आम्दानीमा करिब १५० प्रतिशतको बढोत्तरीसहित रु. १५.२६ पुगेको छ । 

समीक्षा अवधिमा बैंकको पीई रेसियो  १३.९६ गुणा, खराब कर्जाको अनुपात १.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.५९, आधार दर १०.४६ प्रतिशत, क्यापिटल एडेक्वेसी रेसियो १५.८१ प्रतिशत रहेको छ ।