काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंकको सहायक कम्पनी)ले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ।

संस्थाको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशः झापाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको हो। काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्तले यसअघि २६ जिल्लामा रहेको ४८ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब २७ जिल्लामा भएका आफ्ना ५५ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ।

संस्थाले लघु उद्यमव्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोका साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्यधितो लिई सरल तरिकाबाट वित्तीय पहँुच पुर्याउँदै आइरहेको छ। साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरताजस्ता गैरवित्तीय सेवाहरुसमेत उपलब्ध गराउँदै आइरहेको छ। 

वित्तीय संस्थामा करिब ३६ हजारभन्दा बढी सदस्यहरु आबद्ध रहेका छन्। लगानीमा रहिरहेको कर्जा रकम रु. १ अर्ब ६० करोड रहेको छ।