काठमाण्डौ । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु–सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट) ल्याएको छ ।

न्यूनतम मौज्दात रु २५,००० रहेको “सुपर प्रिमियम बचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेटलाईफ”सँगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को रु. दुई लाखसम्मको निःशुल्क औषोधपचार बीमा सुविधा प्रदान गर्नेछ । साथै निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने बैंकले जनाएको छ । 

त्यसैगरी, खुत्रुके खाता (रिकरिङ डिपोजिट)मा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिङ डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि दश वर्षसम्मको अवधि चयन गरेर मासिक न्यूनतम रु पाँच सयदेखि माथि सञ्चय गर्दै जानसक्नेछन्।

कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समय सीमापश्चात साँवा तथा ब्याजको एकमुष्ठ भुक्तानी पाउनेछन् । अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केही गरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा सञ्चित रकमको ७० प्रतिशत ऋणमा नै बिना झञ्झट रकम निकाल्न सकिन्छ ।

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका प्रमुख डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए । 

जेष्ठ मसान्तसम्म निक्षेप तर्फ रु. २८.७९ अर्ब (४७.८८ प्रतिशत ) र कर्जातर्फ रु. २९.७६ अर्ब (५५.२८ प्रतिशत ) वृद्धि गर्न सफल भएको सिभिल बैंकको वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकहरुको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको छ । 

त्यसैगरी बैंकले यस आर्थिक वर्षमा निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.१३ प्रतिशतमा सीमित गर्न सफल भएको छ । गत असार मसान्तमा उक्त अनुपात २.३८ प्रतिशत रहेको थियो ।  सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।