काठमाण्डौं । सिभिल बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ५५ करोड ९३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ५५ करोड ५० लाख रुपैयाँ थियो । यसरी हेर्दा बैंकले अघिल्लो वर्षको तुलनामा खूद नाफा ४३ लाखले मात्र बढाएको देखिएको छ । 

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख रुपैयाँ मात्र रहेको छ । बैंकको चुक्तापूँजी ८ अर्ब ६४ करोड रहेको छ । 

बैंकको संचालन मुनाफा सामान्य घटेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ९० करोड ८८ लाख रुपैयाँ रहेको यस्तो मुनाफा सामान्य घटी ९० करोड १९ लाखमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष २ अर्ब २३ करोड रहेको खूद ब्याज आम्दानी समेत घटेर २ अर्ब २१ करोडमा सीमित बन्न पुगेको देखिएको छ ।

अघिल्लो वर्ष ७२ करोड २९ लाख रहेको रिटेन अर्निंग समेत घटी ५३ करोड ७२ लाखमा सीमित बन्न पुगेको छ भने १ अर्ब ४४ करोडमा सीमित रिजर्बको आकार केही बढी १ अर्ब ५० करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ८८ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी ७९ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । बैंकले निक्षेप र कर्जातर्फ भने क्रमशः ५४.११ र ५१.४४ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

खूद नाफा सामान्य मात्र बढेका कारण बैंकको प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट बढेर ६.४७ रुपैयाँ मात्र पुगेको छ । 

समीक्षा अवधिमा सिभिल बैंकले खराब कर्जाको अनुपात(एनपीएल)लाई घटाउने महत्वपूर्ण सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २.३८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर समीक्षा वर्षसम्म १.०५ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिसम्ममा बैंकको कस्ट अफ फण्ड ६.४६ प्रतिशत, आधार दर ७.८३ प्रतिशत, सीडी रेसियो ८०.३२ प्रतिशत, मूल्य आम्दानी अनुपात ४४.१९ गुणा, प्रतिसेयर नेटवर्थ १२३.६७ रुपैयाँ र तरलता अनुपात २२.३१ प्रतिशत कायम भएको छ ।