काठमाण्डौ । यती एयरलाइन्सले झन्डै १२ वर्षपछि काठमाण्डौ–सिमरा उडान पुनः सुरु गर्ने भएको छ।

निजी क्षेत्रको यो वायुसेवा कम्पनीले आउँदो असोज २१ गतेदेखि काठमाण्डौ–सिमरा नियमित उडान पुनः सुरु गर्न लागेको हो। यसका लागि कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणले पनि अनुमति दिइसकेको छ। 

हाल कम्पनीले भरतपुर, पोखरा, जनकपुर, विराटनगर, भद्रपुर, नेपालगन्ज, भैरहवालगायत स्थानमा नियमित उडान भर्दै आएको छ। अब फेरि यो एयरलायन्सको अर्को गन्तव्यका रुपमा सिमरा थपिएको छ। 

प्राधिकरणबाट यतीले हरेक दिन बिहान ९ बजे र साँझ ४ः४५ बजे सिमराका लागि उडान भर्ने अनुमति पाएको छ। हाल काठमाण्डौ–सिमरा एकतर्फी प्रमोसनल भाडाका रुपमा यात्रुबाट २ हजार ८०० रुपैयाँ लिइने कम्पनीले जनाएको छ।